20090717

निर्माणाधीन (अर्घाखाँची) जिल्ला कारागार सञ्चालन हुन नपाउँदै भत्कियो

सन्धिखर्क, अर्घाखाँची - निर्माणाधीन जिल्ला कारागार सञ्चालन हुन नपाउँदै भत्किएको छ । भवन निर्माण काम पूरा नगरी संरक्षणविहीन राखिएकाले भत्किएको हो ।

भवन र भित्री कोठाको निर्माण सम्पन्न नभई ३ दशकसम्म अधुरै रहेकाले जीर्ण भई भत्किन पुगेको हो । कारागारमा पर्याप्त कोठा भए पनि निर्माण पूरा भइनसकेकाले कैदी, बन्दीलाई अन्यत्र सार्नुपर्ने भएको छ ।

थुनुवा राख्ने कोठा र बाहिरी सबै पर्खाल, भित्र पस्ने मूलगेटबाटै भवन भत्किएको छ । कोठाका भाग पनि भत्किएका छन् । पानी चुहेर भवनभित्र घाँस उम्रेको छ । टालटुल पारेर बनाएको भवनको आधा काम बाँकी थियो । ०३५ सालमा निर्माण सुरु कारागार अझै पूरा नभएको त्यहाँका प्रमुख गीताराम घिमिरेले बताए ।

बनिनसक्दै जीर्ण कारागार पछिल्लोपटक थेग्न नसक्दा भत्किएको प्रजिअ भवानीप्रसाद पराजुलीले बताए । मर्मतका लागि थप बजेट माग गरेका छौ, निकासा भएको छैन, उनले भने ।

जिल्लाका कैदीलाई छिमेकी तम्घास र कपिलवस्तु लैजाने गरिन्छ । जाँचबुझका लागि ओहोरदोहोर गराउन एक कैदीलाई १० हजारभन्दा बढी खर्च लाग्छ । तर सरकारले उक्त खर्च नदिँदा संकट पर्ने गरेको छ, घिमिरेले भने, भवन पुन निर्माण र मर्मतका लागि बारम्बार माग गर्दासमेत सुनुवाइ भएन ।

कारागार भवन ३५ रोपनी जग्गामा छ । यहाँ पाँच कर्मचारी कार्यरत छन् । १३ कोठामध्ये पियन हाकिम बस्ने र कार्यालय सञ्चालनका लागि चार कोठामात्रै प्रयोगमा छन् ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर(वीरेन्द्र केसी )काठमाडौं )

No comments:

Post a Comment