20090717

अर्घाखाँचीमा विद्यालय व्यवस्थापन समिति समेत दलहरूको भागबन्डामा

सन्धिखर्क, अर्घाखाँची - शिक्षालाई राजनीतिमुक्त क्षेत्र बनाउनुपर्ने माग उठिरहेका बेला यहाँ दलहरूले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी समेत भागबन्डा गर्न थालेका छन् ।

जिल्लामा क्रियाशील ठूला चार दलले अधिकांश विद्यालयमा अभिभावकलाई समेत जानकारी नदिई सदरमुकामबाटै व्यवस्थापन समितिको अध्यक्ष र सदस्य बाँडफाँड गरेका हुन् । सदरमुकाममा दलका नेताहरू बसेर विद्यालय आपसमा भागबन्डा गरेर कार्यकर्तालाई समितिमा मनोनयन गरेका हुन् ।

शिक्षा नियमावलीलाई मिचेर सहमतिका नाममा गरिएका व्यवस्थापन समितिमा दलका नेता बसेका छन् । दलको संयन्त्र बनाई बाँडिएका अधिकांश विद्यालयका व्यवस्थापन समितिमा अध्यक्ष र सदस्य भएका दलका नेताहरू अभिभावक भने होइनन् । शिक्षा ऐनले व्यवस्थापन समितिको अध्यक्ष वा सदस्य हुन अध्ययनरत विद्यार्थीको अभिभावक हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

सदरमुकामको जनज्योति उच्च माविमा कांग्रेसका जिल्ला सभापति पीताम्बर शर्मा, भगवती उच्च माविमा एमालेका जिल्ला सदस्य कुलदीप भुसाल समितिको अध्यक्ष भएका छन् । त्यस्तै गाउँका धेरै विद्यालयमा दलका नेता र कर्मचारी बसेका छन् । जिल्लाको बाँगी गाविसको शान्ति माविमा माओवादीका मगरात राज्य समिति सदस्य एवं जिल्ला इन्चार्ज चन्द्रबहादुर खडका, शान्ति उमावि धारापानीमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसी, विद्याविनय निमाविमा जनमोर्चाकै केन्द्रीय सदस्य शेरबहादुर बीसी छन् ।

दलले मनोमानी रूपमा भाग बाँडेर आफ्ना कार्यकर्तालाई टीको लगाएर अभिभावक चुनिएको भन्दै घोषणा गरेपछि अभिभावकले असन्तुष्टि जनाएका छन् । कांग्रेसका जिल्ला उपसभापति विष्णु मुस्कानले भने व्यवस्थापन समितिमा दलीय भागबन्डा नभएको दाबी गरे । दलका नेता समितिमा बस्न केही फरक पर्दैन, उनले भने ।

कर्मचारी पदाधिकारी घोषित

केही विद्यालयका व्यवस्थापन समितिमा कर्मचारीसमेत बसेका छन् । यशोधारा निमाविमा जिल्ला शिक्षाका कार्यालय सहायक बुद्धिराम गैरे, बाल प्रावि तुमकोटमा जिल्ला स्वास्थ्यका लेखापाल यमप्रसाद श्रेष्ठ, भगवती प्रावि बाङलामा स्रोत व्यक्ति नमबहादुर सिंह, पार्वती निमावि पटुबाथुममा जिविसका लेखापाल ठाकुरप्रसाद श्रेष्ठ अध्यक्ष बनेको स्रोतले जनाएको छ । अध्यक्ष भएका कर्मचारीका कोही बालबालिका ती विद्यालयमा पढ्दैनन् । उनीहरूले आफ्ना छोराछोरी बोर्डिङमा पढाएका छन् ।

जिल्लाका २१ उमावि, ६१ मावि, ५१ निमावि २ सय ८८ प्राविमध्ये ३ मावि र २ उच्च माविमा दलबीच भागबन्डा नमिलेर व्यवस्थापन समिति गठन हुन सकेको छैन ।

समिति गठन गर्दा अभिभावकलाई जानकारी दिइँदैन । दलका चार जना नेता बसेर आफ्ना कार्यकर्तालाई मनोनयन गरेको घोषणा गरेपछि बल्ल थाहा पाइन्छ, स्थानीय अभिभावक कृष्ण क्षेत्रीले भने, सर्वदलीयले निर्णय गरेपछि कोही बोल्न पाउँदैनन् ।

दलीय आधारमा दलका नेता व्यवस्थापन समितिमा बस्ने व्यवस्था कानुनमा नभएको जिल्ला शिक्षा अधिकारी विष्णुबहादुर द्वारेले बताए । गाउँबाट बनाएर ल्याएपछि हाम्रो केही लाग्दैन ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर(वीरेन्द्र केसी )काठमाडौं )

No comments:

Post a Comment