20090719

सिद्धारा गाविसको माध्यमिक विद्यालयमा छात्राबास नहुँदा विद्यार्थीको पढाइमा बाधा

सन्धिखर्क, अर्घाखाँची - गाउँदेखि टाढाको माध्यमिक विद्यालयमा छात्राबास नहुँदा जिल्लाको सिद्धारा गाविसका विद्यार्थीको पढाइमा समस्या परेको

छ । घरबाट विद्यालय पुग्न छसात घण्टा पैदल हिँड्नुपर्ने भएकाले सिद्धाराको जनजागृति माविका अंधिकांश विद्यार्थी कक्षामा नियमित आउन सकेका छैनन् ।

विद्यालय जान झाडी र जंगल पार गरेर जानुपर्ने र वस्ती पातलो भएकाले जंगली जनावरको आक्रमणको डरले विद्यार्थी एक्लै विद्यालय जान सक्दैनन् । विद्यालय घरबाट निकै टाढा छ, दैनिक छसात घण्टा पैदल हिँड्नुपर्छ, नियमित विद्यालय जान सकिँदैन, दस कक्षाकी छात्रा फूलमती घर्तीले भनिन्, जंगली जनावरको डरले एक्लै हिँड्न सकिँदैन । सातामा दुईतीन दिन पनि मुस्किलले जान्छौँ, गए पनि चार नबज्दै घर र्फकनुपर्छ ।

विद्यालय नजिकै गाउँघर नभएकाले डेरा गरी पढ्न पनि समस्या भएको बताउँदै विद्यार्थीले छात्रावासको व्यवस्था गर्न माग गरेका छन् । बिहानै झिसमिसेमै विद्यालय हिँड्नुपर्ने र अँध्यारो भएपछि मात्र घरमा आइपुगिन्छ, अर्का छात्र विनोद पल्लीले भने, छात्रावासको माग गरे पनि सुनुवाइ भएको छैन । विद्यालयमा भर्ना हुने विद्यार्थी संख्या बढी भए पनि कमै मात्रा आउने प्रधानाध्यापक रोमाखर बञ्जाडेले बताए । उनले भने, ९ र १० मा भर्ना हुने एक सय ५० भन्दा बढी विद्यार्थी छन् तर नियमित आउने ३० प्रतिशत मात्रै छन् । उनले विद्यालय टाढा भएकाले विद्यार्थी आउन नसकेको कारण देखाइ छात्रावास निर्माणका लागि जिल्ल्ाा शिक्षा कार्यालयमा माग गरेको बताए ।

सिद्धाराको दुम्सीस, पाकुरी, खयरघारी, हर्रेबर्रे, लिसिकुना, सिलुखोला, कर्नाचौर, काँडेखोला, बेलदमरा कार्तिके, सामकोटा, सामेपल्लालगायतका गाउँबाट विद्यालयमा पढ्न जान दैनिक छ सात घण्टा हिंडनुपर्छ । होस्टेल सञ्चालन गर्न विद्यार्थीले सामूहिक निवेदन दिएका छन् । उपल्ल्ाो सिद्धारा तल्लो सिद्धारा र हर्रे बर्रे गाउँका विद्यार्थी मात्र विद्यालय जान सक्छन्, स्थानीय अभिभावक श्याम रावतले भने, विद्यार्थीलाई खाने बस्ने सुरक्षित बस्ने व्यवस्थासहितको वातावरण नबनाएसम्म छोराछारीलाई पढ्न पढाउन अप्ठयारो छ । विद्यालयका अनुसार नियमित विद्यार्थी आउन नसक्ने ९ र १० कक्षमा ८० भन्दा बढी विद्यार्थी छन् । सोत र साधन अभावले फिडर होस्टेल बनाउनमा समस्या भएको विद्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत मित्रमणि खनालले छात्राबासको समस्या समाधान गर्न अभिभावक भेटेर सुझाव संकलन गरी केन्द्रमा माग राखिएको बताए ।

(सहायक समाचार स्रोत- कान्तिपुर(वीरेन्द्र केसी )काठमाडौं )

--------

No comments:

Post a Comment