20090802

एक हप्ता मै पाल्पाका चिकित्सकको लापारबाहीमा अर्घातोषका दुई महिलाको मृत्यु‏

सन्धिखर्क/पाल्पा - पाठेघरको शल्यक्रिया गरिएकी अर्घातोषकी ७६ बर्षिया कुन्तादेवी बन्जाडेको आइतबार लुम्बिनी मेडिकल कलेज, पाल्पाका चिकित्सकको लापारबाहीले मृत्यु भएको छ र चिकित्सकको लापारबाहीले बन्जाडेको मृत्यु भएको आरोप लगाउँदै पीडितले नाराबाजी गरेपछि अस्पताल तनावग्रस्त बन्न पुगेको थियो।

साताभित्र दुई पटकसम्म शल्यक्रिया गरेपछि मृत्यु भएकी महिलाका आफन्तले घटनाको छानबिन गरी कारबाहीको माग राख्दै अस्पताल घेराउ गर्नुका साथै शव बुझ्न अस्वीकार गरेका थिए ।

अस्पतालमा साताअघि पनि अर्घातोषकी एक महिलाको पाठेघरको शल्यक्रियापछि मृत्यु भएको थियो ।

एक महिलाको मलामी गएको साता नबित्दै अर्की महिलाको मृत्यु भएपछि गाउँले आक्रोशित बनेका हुन् । उनीहरूले शनिबार र आइतबार लुम्बिनी मेडिकल कलेजमा घेराउसमेत गरे । अस्पताल प्रशासन घेराउ गरेका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिनको माग गरेका छन् ।

एक महिनाअघि पाठेघरको शल्यक्रिया गर्दा ११ वटा पत्थरीसमेत निकालिएको दाबी गर्दै अस्पतालले लापरबाही लुकाउने प्रयास गरेको मृतक कुन्तादेवीका छोरा टीकाराम बन्जाडेले बताए ।

अल्ट्रा साउन्ड गर्दा केही देखिएन भन्छन्, अनि अप्रेसन गर्दा ११ वटा पत्थरी कसरी देखियो, मृतक बन्जाडेका आफन्त भीमार्जुन पाण्डेले भने, सानो पत्थरी भए पनि हुन्थ्यो, ठूलो ठूलो छ, यस्तो पनि अल्ट्रासाउन्डमा नदेखिने हुन्छ र ?

कुन्तादेवीको पहिलो शल्यक्रियापछि घाउ निको नभएपछि सातापछि पुनः दोस्रो शल्यक्रिया गरिएपछि बिरामीको अवस्था नाजुक भएर मृत्यु भएको थियो ।

हामीले पहिलो अप्रेसन गरेपछि घाउबाट पिप बग्न नरोकिएपछि नै रिफरका लागि भनेका थियौं तर मानेनन्, छोरा टीकारामले भने, डाक्टरले यहीँ निको हुन्छ भनेका थिए तर मृत्यु भयो ।

लुम्बिनी मेडिकल कलेजले पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पोखरासँगको सहकार्यमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया गरिएको थियो । विभिन्न जिल्लाबाट यहाँ पाठेघर खस्ने समस्याको शल्यक्रिया गर्न आउँछन् ।

यस क्षेत्रमा १ हजार ५ सय पाठेघरका बिरामी भएका र सरकारले निःशुल्क शल्यक्रियाका लागि विभिन्न निजी अस्पताललाई अनुमति दिएको छ । कलेजमा ६ सय बिरामीको शल्यक्रिया गरिएको कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले बताए ।

सयौंको अप्रेसन गर्दा केही नहुने, दुईवटै अर्घाखाँचीका पर्न गए, कलेजका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शनलाल प्रधानले भने, यस्तो अवस्था आउला भन्ने कल्पनासमेत थिएन । बिरामीलाई बचाउन खोज्दाखोज्दै दुर्घटना भएको उनले बताए । अस्पतालले भने डाक्टरको लापरबाहीले गर्दा बिरामीको मृत्यु भएको भन्ने स्विकार्न चाहेन । अबका दिनमा यस्ता गल्ती कमजोरी हुने छैनन्, अध्यक्ष पोखरेलले भने, अहिले पनि गल्ती हो वा होइन हामीले यसबारेमा छानबिन गर्नेछौं ।

@ नेपाली संचार माध्यमहरु

--------
@ www.arghakhanchi.com

No comments:

Post a Comment