20090606

अर्घाखाँचीका अधिकांश महिलामा पाठेघर खस्ने समस्या

सन्धिखर्क, अर्घाखाँची -अर्घाखाँचीका अधिकांश महिलामा पाठेघर खस्ने समस्या भेटिएको छ । विभिन्न गाविसमा गरिएको परीक्षणमा अधिकांश महिलामा यो समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सुत्केरीमै भारी काम, गर्भपतन, सानो उमेरमा बच्चा जन्माउने, सुत्केरी अवस्थामै यौनसम्पर्क, बालविवाह, सरसफाइको कमी र अशिक्षाका कारण महिलामा पाठेघरको समस्या देखिएको कार्यालयले जनाएको छ ।

जिल्लाको गोखुंगा, चिदिका, बल्कोट, पोखराथोक, अर्घातोष, सन्धिखर्क, ठाडालगायतका गाविसमा महिलाको पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर गरिएको थियो । १ हजार ८ सय ९४ महिलामा गरिएको परीक्षणमा ३ सय ५० जनालाई रिङ राख्नुपर्ने र २ सय २५ महिलाको शल्यक्रिया गनर्ुपर्ने अवस्था भेटिएको थियो ।

अधिकाश महिला पाठेघरको रोगले पीडित भएको पाइयो, जनस्वास्थ्य प्रमुख डा.चित्रप्रसाद शर्मा वाग्लेले भने, समयमै उपचार नगरे अरू समस्या थपिन सक्छ ।

उनले पाठेघरको उपचारका लागि सरकारले छुट्टै नीति ल्याएर सेवा दिनुपर्ने बताउँदै भने, जिल्लामा ९० प्रतिशत महिला पाठेघर र आङ खस्ने समस्याबाट पीडित छन् ।

उनले धेरै महिलाको पाठेघर पूरै बाहिर निस्केको, भित्र नजाने, घाउ बनेको पिसाब नरोकिने अवस्था भेटिएको बताए । पाठेघरको समस्या देखिएको लगत्तै स्वास्थ्य संस्थामा पुगेर उपचार गराए थप समस्याबाट रोक्न सकिने उनले बताए ।

पाठेघर खसेका महिलालाई घाउ हुने, काम गर्न, हिडडुल गर्न, यौनसम्पर्क गर्दा समस्या हुने र क्यान्सरसमेत भएपनि लाज र डरका कारण रोग लुकाउने गरेका उनीहरूले बताए । पाठेघर खसेपछि हिँड्दा, काम गर्दा मेलापात गर्दा अप्ठ्यारो हुुने गरेको छ, ठाडाकी शारदा बेल्बासेले भनिन्, रोग भने सबैले हेला गर्छन् भनेर लुकाएर राखें, अहिले दुःख पाइयो ।

पाठेघर खस्ने समस्याबाट पीडित हुनेमा १५ वर्षदेखि ७० वर्षसम्मका महिला भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । सुत्केरी महिलाले ४-५ दिनमै काम गनुपर्ने, अवैध गर्भपतन, कम उमेरमै बच्चा जन्माउने, सुत्केरी लगत्तै यौनसम्पर्क, बालविवाह सरसफाइको कमी र अशिक्षित भएका कारणले पाठेघरको समस्या बढी हुने स्वास्थ्यकर्मी बताउँछन्

---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

No comments:

Post a Comment