20090629

अर्घाखाँचीमा एचआईभीबाट बच्न रक्त परीक्षण गर्नेको लहर, कयौमा एड्स भेटियो

सन्धिखर्क, अर्घाखाँची - एचआईभी/एड्स लाग्न सक्ने आशंकामा रक्त परीक्षण गराउने महिलाको संख्या बढ्दै गएको छ ।

रोजगारीका लागि विदेशिएका श्रीमान् घर आउँदा एचआईभी लाग्न सक्ने भएकाले जोगिन उनीहरूले रक्त परीक्षण गराएको बताएका छन् । एचआईभीबाट बच्न रक्त परीक्षण गराउने महिलाको लहर चलेको छ ।

नेपाल परिवार नियोजन संघ र ग्लोबल फन्डको साझेदारीमा प्रेरणा संस्था र सक्रिय सेवा समाजले संयुक्त रूपमा अर्घाखाँचीका गाउँगाउँमा परामर्श केन्द्र स्थापना गरी एचआईभी परीक्षण गर्न आह्वान गरेका छन् । ती संस्थाको आह्वानपछि स्वैच्छिक रक्त परीक्षणमा आउने महिलाको संख्या बढेको हो । परीक्षण गराउन श्रीमान् विदेश गएका महिला र कलेज पढ्ने युवती बढी आउने गरेका छन् । श्रीमान् विदेश गएका महिलाहरूले आफूले रक्त परीक्षण गराएपछि विदेशमा रहेका श्रीमान्लाई पनि एचआईभी परीक्षण गराएरमात्र घर र्फकन सल्लाह दिने गर्छन् ।

एचआईभी/एड्स रोग रोकथामका लागि प्रेरणा संस्थाले ६ महिनादेखि जिल्लाका सबै गाविसमा सचेतना अभियान सञ्चालन गरी छलफल, बहस अन्तरक्रिया र कक्षा सञ्चालनपछि गाउँका महिला परीक्षण गराउन आएको संस्थाका परियोजना संयोजक धर्मराज उप्रेतीले बताए । जिल्लाको पोखराथोक र अर्घातोष गाविसमा गरिएको रक्त परीक्षणमा ४ सय २२ जनाले परीक्षण गराएका छन् । जसमा ३ जना महिलामा एड्स भेटिएको छ ।

जिल्लाको बल्कोट, पोखराथोक, ठाडा र सन्धिखर्कमा केन्द्र स्थापना गरी एचआईभी/एड्स र यौन शिक्षाबारे जानकारी दिनुका साथै एचआईभी परीक्षण गरिन्छ ।

सूचना केन्द्रमा परीक्षण, एचआईभी एड्स र यौन शिक्षाबारे जानकारी लिन दिनमा २० देखि ५० जनासम्म महिला आउने गरेका छन्, उनले भने, नियमित परीक्षण गनर्ुपर्छ भन्ने धारणा सामान्य महिलामा पनि जागेको छ । जिल्लामा घरैपिच्छे पुरुषहरू वैदेशिक रोजगारमा गएकाले घरघरमा गएर यसबारे शिक्षा दिएर सचेत बनाउन आवश्यक रहेको उनको भनाइ छ । जिल्लाको अर्घातोषमा रक्त परीक्षणमा श्रीमान् विदेश गएका र कलेज पढ्ने युवा-युवती बढी आएका थिए ।

अर्घातोषकी स्थानीय कल्पना आचार्य आफ्ना दुई छोरी लिएर परीक्षणमा आएकी थिइन् । जाँच गरेर कुनै पनि संक्रमण नभेटिएपछि ढुक्क भइयो, उनले भनिन् । प्रेरणाका अनुसार परीक्षणका लागि जिल्लाका ४२ गाविसका महिला आउने गरेका छन् ।

---------

(सहायक समाचार स्रोत- कान्तिपुर, काठमाडौं )

No comments:

Post a Comment