20090621

पुर्व अर्घाखाँचीका स्थानीय विकास अधिकारी ढकाल इलाममा राहत कुर्दै

सन्धिखर्क, अर्घाखाँची - पुर्व अर्घाखाँचीका स्थानीय विकास अधिकारी सुदर्शनप्रसाद ढकाल अहिले प्रमुख जिल्ला अधिकारी -प्रजिअको रुपमा इलाममा कार्यरत छन।

प्रमुख जिल्ला अधिकारी -प्रजिअ) सुदर्शनप्रसाद ढकालले द्वन्द्वकालमा तत्कालीन विद्रोहीले १ सय ५ दिन नियन्त्रणमा लिएको भन्दै राहत माग गरेका हुन् । २०६१ माघ ३ गते अर्घाखाँचीबाट तत्कालीन स्थानीय विकास अधिकारी ढकाललाई माओवादीले अपहरण गरेका थिए ।

इलाम जिल्ला प्रशासन कार्यालयमा दिनहुँ राहत माग्नेको भीड लाग्ने गरेको छ । सर्वसाधारण मात्र होइन, प्रजिअ ढकाल स्वयं पनि राहत माग्नेको सूचीमा छन् ।

द्वन्द्वपीडितका लागि आर्थिक सहायता एवं राहतसम्बन्धी मापदण्ड २०६४ अनुसार शान्ति मन्त्रालयले सूची मागेपछि उनको नाम पनि समेटिएको हो ।

जिल्लास्तरीय राहत तथा पुनःस्थापना समिति बैठकले ३० दिनभन्दा बढी अपहरणमा परेकाको नामावली तयार गर्ने क्रममा २५ जनाको निवेदन परेको छ । नाम समेटिएकामध्ये प्रजिअ ढकाल पनि एक हुन् ।

समितिको छानबिनपछि नाम सिफारिस भए अरू पीडितजस्तै उनले पनि २५ हजार नगद पाउने छन् ।

महोत्तरी, बिजुलपुरा ८ घर भएका प्रजिअ ढकाल स्वयं नै छानबिन समितिका अध्यक्ष हुन् । समितिमा नागरिक समाज, अधिकारवादी संस्था र सञ्चारकर्मीलगायत छन् ।

उनी अर्घाखाँचीमा अपहरणको १ सय ५ दिनपछि अन्तर्राष्ट्रिय रेडक्रसको रोहबरमा छुटेका थिए ।

आफू पनि द्वन्द्वपीडित भएकाले सोहीअनुसारको राहतका लागि निवेदन दिएको हुँ, प्रजिअ ढकालले संचारकर्मीहरुसँग भने । निवेदन परेकामध्ये पूर्वी नयाँबजार ४ का एकै घरका चारजना छन् ।

यसका साथै विष्णु पौडेल, गुणनिधि, बालकृष्ण र टेकप्रसादले ७ सय ३० दिन अपहरणमा परेको भन्दै निवेदन दर्ता गराएका छन् । सूचीमा सञ्चारकर्मी उमेश गुरुङ र सोमनाथ शर्माको पनि नाम छ ।

No comments:

Post a Comment