20090624

अर्घाखाँचीका सबै गाबिसमा खेतमा रोपाइँ गरी दही-चिउरा खाएर असार पन्ध्र मनाइयो


सन्धिखर्क, अर्घाखाँची - असारको पन्ध्र- सोमबार अर्घाखाँचीका ४२ वटै गाबिसहरुमा खेतमा रोपाइँ गरी दही-चिउरा खाएर मनाइयो ।

असारको पन्ध्र रोपाइँ गरी दही-चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुनेहरू पनि अरूको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छयापाछाप गरेर रमाइलो गरेका थिए। सबैले एक पटक हिलोमा टेक्नुपर्छ भन्ने मान्यता रहेको छ ।

दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । कतैकतै सन्धिखर्कको बागीखोला, खाचिकोटको फुदवाङ लगायतका ठाउँहरुमा ठूला खेती भएकाले रोपाईं गर्दा पञ्चेबाजा बजाई नाचगान गरेका पनि देखिन्थे ।

असार १५ लाई रोपाइँ उत्सवका रुपमा लिँदै अनिवार्य दही-चिउरा खानुपर्छ भन्ने मान्यता पनि रहेको छ ।

असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गर्‍हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् ।

असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।

असार पन्ध्रको दिन राष्ट्रिय धान दिवस हरेक बर्ष जस्तै यस बर्ष पनि मनाइयो । नेपालको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ ।

कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसैअनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्व छ ।

--------

अन्य हाम्रा सहयोगी साईटहरु-

म्युजिक भिडियोहरु (हिन्दी, नेपाली) हेर्नको लागि - http://arghakhanchimusic.blogspot.com
प्रकासित फोटोको लागि - http://arghakhanchitimes.blogspot.com/
भिडियो हेर्न्न - http://youtube.com/arghakhanchitimes
प्रकाशित जिल्ला समाचारहरु- http://arghakhanchinews.blogspot.com/
-माथिका सबै साईटहरुमा गइ पेजहरु खोल्दा तल, माथि - दाँया, बाँया देखिएका बिज्ञापनहरु माथि सक्दो क्लिक गरि हामीलाई सहयोग गर्नुहोला।

No comments:

Post a Comment